अनुसूची -८
(नियम ४४ को उपनियम (३) सँग सम्बन्धित)
कार्य सम्पादन मुल्याङ्कन फाराम भर्दा पालना गर्नुपर्ने निर्देशिका
(क) सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीका लागि :-
(१) आफूले सम्पादन गरेको सम्बन्धित महलमा उल्लिखित शिर्षसँग सम्बन्धित कार्यहरूलाई बुँदागत रुपमा वस्तुपरक परिणाम समेत देखिने गरी उल्लेख गर्नुपर्नेछ ।
(२) सम्पादित कार्य बमोजिम कुनै महत्वपर्ण उपलव्धि/प्रगति भएको भए सो को विवरण समेत उल्लेख गर्नु पर्नेछ ।
(३) बुँदा नं. (१) र (२) लाई समर्थन गर्ने कुनै आधिकारीक पत्र, लिखत भए सो बारेमा पनि संक्षिप्त रूपमा उल्लेख गर्नु पर्नेछ ।
(४) आफूलाई तोकिएको जिम्मेवारी निर्वाह गर्दा आफूले पाएको पुरस्कार, कदरपत्र, प्रशंसापत्र तथा विभागीय वा अन्य कारबाही समेतका बारेमा उल्लेख गर्नु पर्नेछ ।
(५) श्रृजनशील कार्य अन्तर्गत नियमित कामको अतिरिक्त नेपाल सरकार वा प्रधान कार्यालयबाट गठन गरिएका विशेष समितिहरूमा रही तथा आन्तरिक रुपमा आफ्नो नेतृत्वमा कार्यसम्पादन गरेको वा आफूले सम्पादन गरेको त्यस्तो कार्यले सङ्गठन, कार्यालय तथा आम जनतामा प्रत्यक्ष रूपले देखिने गरी पारेको सकारात्मक प्रभाव झल्किने र कानून र व्यवस्था कायम गर्ने कार्यलाई मात्र उल्लेख गर्नु पर्नेछ ।
(६) मूल्याङ्कन अवधिमा आफ्नो अपेक्षा अनुरूप मूल्याङ्कति हुनका लागि आफूले सम्पादन गरेका कार्यहरूलाई मात्र उल्लेख गरी आफ्नो व्यक्तित्व, कार्य क्षमता र स्तरलाई झल्काउने गरी वस्तुनिष्ठ रूपमा र भएसम्म तथ्यगत आधारमा फाराम भर्नु पर्नेछ ।
(ख) सुपरिवेक्षक र पुनरावलोकनकर्ताका लागि :-
(१) सुपरिवेक्षक र पुनरावलोकनकर्ताले आफु समक्ष प्राप्त हुन आएको मुल्याङ्कन फाराममा सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीले शान्ति सुरक्षा व्यवस्थापन वा कार्यान्वयनको विवरण, नेतृत्व तथा जिम्मेवारी, व्यवस्थापन तथा समन्वय क्षेत्रमा गरेका उल्लेखनीय कार्यहरू, सिर्जनशील कार्य, आर्थिक तथा नैतिक अनुशासनको पक्षमा गरिएका कार्यहरू एवं अभिलेखमा जनिने गरि बिभागीय कारबाही भए/नभएको समेतलाई आधार मानी औचित्य सहित अङ्क प्रदान गर्नु पर्नेछ ।
(२) सुपरिवेक्षण गरिने सशस्त्र प्रहरी कर्मचारी मुल्याङ्कनको पूर्ण अवधिसम्म सम्बन्धित कार्यालयमा नरही अन्य कार्यालयमा समेत कार्यरत रहेको भएमा त्यस्ता सशस्त्र प्रहरी कर्मचारीहरूको कार्यसम्पादन मुल्याङ्कन गर्ने अधिकारीले सम्बन्धित कार्यालयको प्रमुखसँग लिखित रुपमा उक्त अवधिको कार्य सम्पादन मगाई सोही अनुसार औचित्य सहित अङ्क प्रदान गर्नु पर्नेछ ।
(३) कार्यसम्पादन मुल्याङ्कनको आधारमा राय पेश गर्दा सम्बन्धित सशस्त्र कर्मचारी स्टाफ, कमाण्ड वा प्रशिक्षक जस्ता कुन कामको लागि योग्य हो खुलाउनु पर्नेछ ।
(४) कूल साठी भन्दा कम र नब्बे भन्दा बढी अङ्क दिनु पर्ने भए सो को कारण खुलाउनु पर्नेछ ।
(५) मूल्याङ्कन हुने सशस्त्र प्रहरी कर्मचारीले पाएको पुरस्कार र सजायको कारण र पृष्ठभूमि समेतलाई विचार गर्नु पर्नेछ । पटक पटक विभागीय कारबाहीमा परेका सशस्त्र प्रहरी कर्मचारीको मूल्याङ्कन सोही अनुसार नभएमा त्यस्तो मूल्याङ्कन सम्बन्धित सुपरिवेक्षक र पुनरावलोकनकर्ताको मूल्याङ्कनको आधार हुनेछ ।
(६) मूल्याङ्कन हुने सशस्त्र प्रहरी कर्मचारीले आफ्नो कार्य सम्पादन गर्दा सङ्कठन र कार्यालयको छवी उच्च बनाएको र आम जनतासँग सौहाद्रपूर्ण एवं नागरिक मैत्री कार्य र व्यवहार गरेको बारेमा कार्यालयगत रुपमा वा र्सार्वजनिक रुपमा नै जानकारी भएको भए यस उपर समेत विचार गर्नु पर्नेछ ।
(ग) पुनरावलोकन समितिको लागि :-
(१) सुपरिवेक्षक र पुनरावलोकनकर्ताले गरेको मुल्याङ्कन नियमावली बमोजिम भए नभएको हेर्नुपर्नेछ ।
(२) सुपरीवेक्षक र पुनरावलोकनकर्ताले कारण र औचित्य खुलाउनु पर्ने ठाउँमा खुलाए नखुलाएको हेर्नुपर्नेछ।
(३) बुंदा नं. (२) बमोजिम कारण र औचित्य नखुलाइएको भए सो खुलाउन र खुलाइएको कारण र औचित्य युक्तिसङ्गत नभए कारण सहित फिर्ता पठाउनु पर्नेछ ।